Friday, December 7, 2012

प्रधानमन्त्रीले खाए मुसाको चटनी

कैलाली, मंसिर 23 - पाहुनाका रुपमा आफ्नो घरमा बास बस्न आएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सत्कारमा  कैलाली, टीकापुर नगरपालिका विजयनगरका बाबुराम चौधरीको परिवारले कुनै कसर बाँकी राखेन । शुक्रबार कैलालीको मुक्तकमैया शिविरमा पुगेको प्रधानमन्त्रीले थारु संस्कृति अनुसार अतिथिलाई अर्पण गरिने मुसाको चटनी, ढिकरी र अलिकति जाँड समेत चाख्न भ्याउनुभयो । 
‘म मदिरा पिउन्न तर तपाईको सम्मानको लागि एक घुट्को लिन्छु’, सत्कारमा भातको जाँड देखेपछि प्रधानमन्त्रीले भन्नुभयो । चौधरी परिवारले ‘यो मुसाको चटनी’ भने पछि प्रधानमन्त्रीले मुस्कुराएर मिठो मानी मानी खानुभएको थियो । 
 
थारु परम्परा अनुसार पाहुनालाई मुसाको चटनी, जाँडको झोल र ढिकरी लगायतको परिकार दिने प्रचलन छ । त्यही प्रचलन अनुसार विजयनगरका मुक्तकमैया बाबुराम चौधरीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि मुसाको चटनी र जाँडको झोल चखाउनुभयो । 
थारु परम्परा अनुसार पाहुनाको खुट्टा धोएर ढोग्ने प्रचलन पनि छ । तर प्रधानमन्त्री भट्टराईले त्यसो गर्न भने मान्नुभएन । 
‘काँ यस्तो हुन्छ, यो त सामन्तहरुको परम्परा हो’, प्रधानमन्त्रीले भन्नुभयो, ‘यस्तो त म गर्न दिन्न ।’
प्रधानमन्त्रीको खुट्टा धुन तामाको भाँडो लिएर बसेकी मुक्तकमैया बाबुरामकी कान्छी श्रीमती सीमा चौधरी प्रधानमन्त्रीले गोडा धुन नमानेपछि हाँस्दै फर्कनुभयो । 
प्रधानमन्त्रीले मुक्तकमैया बस्तीमा रहेको शक्ति प्राविको परिषरमा सबै मुत्तकमैयाका गुनासा र सुझाव सुन्नुभएको थियो ।  
केही दिनअघि ‘प्रधानमन्त्री बाबुरामले प्रस्ताव राखे उहाँसँग मित लगाउने बारे सोच्ने’ बताएका बाबुराम चौधरीलाई त्यो मौका भने मिलेन । न त्यसबारे प्रधानमन्त्रीले कुनै प्रशंग उठाउनुभयो, न त बाबुरामले नै ।

No comments:

Post a Comment