Friday, December 7, 2012

दलहरुले मागे फेरि ७ दिन, राष्ट्रपतिले थपेनन्


२१ मंसिर, काठमाडौं । प्रमुख दलहरुले सहमतीय सरकार गठनका लागि थप ७ दिनको समय माग गरेका छन् । राष्ट्रपति डा. रामवरण यादवले दोस्रोपटक दिएको समयसीमा बिहीबार सकिएपछि दलहरुले थप समय मागेपनि राष्ट्रपति कार्यालयबाट म्याद थपको कुनै सूचना आएन् ।विशेष समितिको सचिवालयमा बिहीबार बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकमा विवादित विषयहरुमा सहमति हुन नसकेपछि राष्ट्रपतिसँग थप समय माग गरिएको हो । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले वार्ता र संवादलाई निरन्तर जारी राखेर राष्ट्रपतिसँग म्याद थपको लागि आग्रह गरिने बताउनुभयो ।
समय सकियो, राष्ट्रपतिले थपेनन्
चार दलको बैठक लगतै शीर्ष नेताहरुले राष्ट्रपतिलाई भेट्न खोजेपनि समय पाएनन् । अब भोलि विहान ८ बजे भेटको समय मिलाइएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भोलि दलहरुसँगको छलफलपछि मात्र समय थप्ने/नथप्ने टुङ्गो लाग्ने बताउनु भयो । ‘नेताहरुले भेट्न खोज्नु भएको थियो, तर राष्ट्रपतिको समय नमिलेकाले भोलि विहान बोलाइएको छ’ उहाँले भन्नभुयो-’अब आज केही पनि आउँदैन ।’
शितल निवासले संसद नरहेको अवस्थामा संविधानको धारा ३८ को उपधारा २ अनुसार बहुमतीय सरकार गठन प्रक्रियामा नजाने यसअघि नै प्रष्ट पारिसकेको छ । यद्यपि कांग्रेस, एमालेहितका विपक्षी दलका नेताहरु भने पटक-पटक समय थप्दा पनि सहमति नभए बहुमतका आधारमा राष्ट्रपतिले सरकार गठन गर्न दिनु पर्ने बताउँछन् ।
राष्ट्रपतिले अन्तरिक संविधानको धारा ३८ को उपधारा १ अनुसारको सरकार गठनका लागि मंसिर ८ गते ७ दिनको समयसीमा तोकेर आहृवान गर्नु भएको थियो । उक्त समयमा सहमति नजुटेपछि दलहरुको आग्रह अनुसार मंसिर १४ गते फेरि थप गरिएको ७ दिनको समयसीमा बिहीबार सकिएको छ ।

No comments:

Post a Comment