Saturday, December 8, 2012

विबाहको दिन बेहुलाको निधन



जनखबर, मंसिर २३

विबाहकै दिन शनिबार विहान रिस्कु गाविस ४ का प्रकाश मगरको निधनले वेहुला र वेहुलीको परिवार मात्रै हैन आफन्त र छरछिमेकी सबै शोकमा परे । शनिबार रातीको लगनमा विहेको लागि विहान जन्ती जाने तयारी हुँदै थियो ।
आफ्नै घरमा विवाहका लागि आएका पाहुनासँग हर्ष उल्लासका साथ नाचगान गरी सुतेका प्रकाशले एकैछिनको व्यथाले शनिबार विहान संसार छाडे । छिमेकी राजु राईका अनुसार बेलुकासम्म नाचगान गरेर सुतेका प्रकाश विहान सबेरै शौचालयबाट आएर फेरि सुतेका थिए । त्यसको केहीबेरमै एक्कासी छटपटिएर खाटबाट लडेको  १० मिनेटमा नै उनको ज्यान गयो ।  
विरामी भएर छटपटिन थालेपछि उपचारका लागि लैजाने तयारी गर्दागर्दै ज्यान गएको परिवारले जनाएको छ । ‘पिसाब फेरेर आएको छोरो केही तन्त्रमन्त्र लागेर छटपटाएको हो कि जस्तो लाग्यो, धामीझाँक्री र औषधि उपचार गराउनु पर्छ की भन्ने सोच बनाउँदा बनाउँदै संसारबाट विदा भयो’ बुबा कर्णबहादुरले गहभरि आँशु पार्दै भन्नुभयो ।
छोराको मृत्यूपछि ४५ बर्षिया आमा मुना छिनछिनमा बेहोस हुन्छिन् । होस खुल्ने वितिकै छोरा सम्झेर रुने र चिच्याउने गर्छिन् । तीन छोरा र तीन छोरी रहेको मगर परिवारमा प्रकाश जेठा छोरा हुन् । उनको सामाजिक परम्परा अनुसार शनिबार नै अन्त्यष्टि गरिएको छ ।

No comments:

Post a Comment