Tuesday, December 18, 2012

केयुकेएलमा नातावाद छैन : प्रधानमन्त्री


काठमाडौ, पुस ३ – काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयुकेएलले कानुनी र प्रक्रियागत रुपमै तिमिला यमी थापालाई अध्यक्ष चयन गरेको दावी गरेको छ ।
प्रधानमन्त्री पत्नी हिसिला यमीको दबाबमा तिमिलालाई अध्यक्ष बनाईएको भन्दै आलोचना भइरहेका बेला केयुकेएलले मंगलबार पत्रकार सम्मेलन गरी अध्यक्ष चयनमा प्रक्रियागत त्रुटी नभएको दावी गरेको हो ।
केयुकेएलको सञ्चालक निकाय काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले तिमिलाको नियुक्तिमा पारिवारिक र नातावादको कुरा जोडिएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
केयुकेएलमा केही कमीकमजोरी भए त्यसलाई सच्याउन आफू तयार रहेको भन्दै प्रधानमन्त्रीले अध्यक्ष नियुक्तिको कुरालाई अतिरञ्जित नगर्न आग्रह समेत गर्नुभयो । तिमिला यमीलाई अर्को व्यवस्था नभएसम्मका केयुकेएलको अध्यक्षको जिम्मेवारी दिइएको उहाँको भनाई छ ।
शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले प्रक्रिया पुर्‍याएर कानुनी रुपमा समिति गठन गरी यमीलाई मन्त्रालयको प्रतिनिधीका रुपमा अध्यक्ष तोकिएको बताउनुभयो । यसअघिका अध्यक्ष तथा स्वतन्त्र सञ्चालक प्रयागलाल जोशीलाई पदबाट हटाएर प्रधानमन्त्रीकी पत्नी हिसिला यमीकी दिदी तिमिलालाई नियुक्त गरेपछि आलोचना बढेको थियो ।

No comments:

Post a Comment