Tuesday, December 18, 2012

धुर्बे’ मार्न माग गर्दै चौथो दिनपनि आन्दोलन


चितवन, पुस ३ – जंगली हात्तीको आक्रमणमा दुई जनाको ज्यान गएपछि चितवन माडीका वासिन्दाले हात्ती मार्नुपर्ने माग गर्दै मंगलबार चौथो दिन पनि आन्दोलन जारी राखेका छन् ।
उनीहरुले मंगलबार बिहान १० बजेसम्म आक्रमण गर्ने हात्ती ‘धुर्बे’ नमारिए आन्दोलन अझै चर्काउने चेतावनी दिएका छन् ।
शनिबार राती हात्तीको आक्रमणबाट गर्दी गाविसका बुद्धिराम बोट र उहाँकी श्रीमती जरिया बोटको ज्यान गएपछि माडीवासी आन्दोलनमा उत्रेका हुन् । उनीहरुले सोमबार निकुञ्ज मुख्यालय पुगेर प्रमुख संरक्षण अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै कार्यालयका केही सीसा समेत फुटाएका छन् ।
माडीबासीले जंगली हात्ती तत्काल मार्नुपर्ने, मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने, नारायणगढबाट माडी जाने सडक फराकिलो बनाउनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका हुन् । आन्दोलनमा राजनीतिक दलका स्थानीय नेताले पनि ऐक्यबद्धता जनाएका छन् ।
माडीबासीको आन्दोलनका कारण मंगलबार चौथो दिनपनि नारायणगढ ठोरी सडक खण्डमा यातायात बन्द भएको छ भने माडीका बजार र पसल पनि बन्द छन् ।
यसैबीच, जंगली हात्तीले सोमबार राती पनि माडीको गर्दी गाबिसका दुई घरमा क्षति पुर्‍याएको
छ । गर्दी ७ का रामप्रसाद न्यौपानेको घर भत्काउनुका साथै घरमा रहेको ७ बोरा धान खेतमा पोखाइदिएको छ । यस्तै गर्दी १ कै मुन्सी महतोको घर भत्काएर ३ बोरा धान पोखाईदिएको छ ।
हात्ती नियन्त्रणका लागि कसराबाट खटिएको नेपाली सेनाको टोलीले ५ राउण्ड हवाई फायर गरेकाले हात्ती जंगलतिर भागेर थप क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

No comments:

Post a Comment