Tuesday, December 18, 2012

‘मेडिकल फेल’ भएर विदेशबाट १ सय २० कामदार फिर्ता


काठमाडौ, पुस ३ – स्वास्थ्य परीक्षणमा कमजोरी देखाएर वैदेशिक रोजगारीमा गएका नेपाली कामदार फिर्ता पठाउने क्रम अझै रोकिएको छैन ।
यस्तो समस्या सबैभन्दा बढी मलेसिया जाने कामदारमा देखिएको नेपाल स्वास्थ्य ब्यवसायी महासंघले जनाएको छ ।
नेपालबाट स्वास्थ्य परीक्षणमा सफल भएर मलेसिया पुगेका कामदारलाई मलेसियामा अस्वस्थताको प्रमाणपत्र दिएर फिर्ता पठाइएको महासंघका अध्यक्ष प्रवीण तिवारीले बताउनुभयो ।
मलेशियामा विदेशी कामदारको स्वास्थ्य परीक्षण फोमेमा भन्ने संस्थाले गर्ने गरेको छ । विदेशमा अदक्ष स्वास्थ्यकर्मीले परीक्षण गर्दा लापरवाही हुने गरेकाले नेपाली कामदारले अनावश्यक झण्झट व्योहोर्नुपरेको महासंघका अध्यक्ष तिवारीको भनाई छ । उहाँका अनुसार मंसिर महिनामा मात्रै १ सय २० कामदार स्वास्थ्य परीक्षणमा असफल भएर फिर्ता आएका छन् ।
जसमध्ये सबैभन्दा धेरै १ सय जना कामदार मलेसियाले फिर्ता पठाएको छ । मलेसिया सरकारलाई यसबारे बारम्बार जानकारी गराएपनि नेपाल सरकार बलियो रुपमा प्रस्तुत हुन नसक्दा समस्या कायम रहेको तिवारीले बताउनुभयो । कतार गएका नेपाली कामदारमा समेत यस्तो समस्या देखिएको छ ।
केही कामदारले स्वास्थ्य परीक्षणको नक्कली रिपोर्ट पेश गरेर जाँदा समस्या हुने भएकाले वैदेशिक रोजगार विभागले यसमा कडाई गर्नुपर्नेमा स्वास्थ्य व्यवसायीहरुले जोड दिएका छन् । स्वास्थ्य परीक्षणमा कमजोरी देखाएर फिर्ता पठाईएका कामदारलाई स्वास्थ्य व्यवसायी महासंघले क्षतिपूर्ति वापत ४० हजार रुपैयाँ दिने गरेको छ ।
तर नक्कली रिपोर्ट देखाएर जानेहरुले त्यस्तो क्षतिपूर्ति नपाउने हुनाले कामदारलाई मर्कामा पर्नबाट जोगाउन श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायले स्पष्ट रुपमा समस्या समाधानको प्रयास गर्नुपर्ने महासंघका अध्यक्ष तिवारी बताउनुहुन्छ ।

No comments:

Post a Comment