Sunday, December 9, 2012

घाँटी थिचेर श्रीमतीको हत्या गरेको आरोप

जनखबर
धादिङ, मंसिर २४ - धादिङको दार्खा र गुम्दी गाविसमा गरि दुई जनाको हत्या भएको हप्ता दिन नपुग्दै धादिङकै आगिन्चोक गाविसमा एक महिलाको हत्या भएको छ ।
महिला हिंसा बिरुद्ध बिश्वव्यापी अभियान चलिरहेको बेला उत्तरी धादिङको आगिञ्चोक गाविस वडा नम्बर ५ विर्ता गाउकी ३२ वर्षिया पम्फा उपाध्यायको हत्या भएको प्रहरीले जनाएको छ ।
घरमा सामान्य बिवाद भएकै कारण शनिवार राती पम्फाको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख विकाशराज खनालले बताउनुभयो । उपाध्यायलाई आईतवार बिहान मृत अवस्थामा भेटिएकाले उहाँको हत्या भएको अनुमान गरिएको हो ।
पम्फाको घांटीमा डामहरु देखिएकाले उहाँको हत्या  घांटी थिचेरै भएको हुन सक्ने अनुमान गरिए पनि हत्या हुनुको कारण वारे अनुसन्धान पछि मात्र खुल्ने प्रहरीको भनाई छ ।
माइती पक्षले पम्फाको हत्यामा उहाँकै श्रीमान लक्ष्मीप्रसादको संलग्नता रहेको  आरोप लगाएका छन् । लक्ष्मीप्रसादलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment